काठमाडौं, ८ मंसिर । नेसनल भोलिन्टियर फोर्स (NVF) ले दाङमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी झण्डा जलाइएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका प्रमुख कमाण्डर क. पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लोकतन्त्रको नाममा अराजक गतिविधि, अन्य दलको मानमर्दन, उच्च नेतृत्वमाथि आधारहीन आरोप तथा चरित्र हत्या गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा राजनीतिक असहमति विचार र बहसबाट व्यक्त गर्नुपर्ने भन्दै झण्डा जलाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने गतिविधि लोकतान्त्रिक संस्कार विपरीत भएको दाबी गरिएको छ। यस्तो प्रवृत्तिले राजनीतिक मर्यादा मात्र नभई सामाजिक सद्भावसमेत बिगार्ने खतरा रहने संगठनको भनाइ छ।
नेसनल भोलिन्टियर फोर्सले उक्त घटनाको तत्काल छानबिन गर्न, संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन राज्य संयन्त्र सक्रिय हुन माग गरेको छ।
राज्य संयन्त्र मौन बसे कानूनप्रति जनविश्वास कमजोर बन्ने चेतावनी दिँदै संगठनले अन्याय, अराजकता र चरित्रहत्या विरुद्ध सशक्त रूपमा उभिने उल्लेख गरेको छ। राष्ट्रिय स्वाभिमान, विधिको शासन र राजनीतिक मर्यादाको रक्षाका लागि आवश्यक परे सशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।





