९ फागुन, काठमाडौं । केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी परिणाम आफ्नो पक्षमा नआउने आँकलन गर्दै अराजक गतिविधितर्फ उन्मुख भएको आरोप लगाएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओलीले शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका पछिल्ला गतिविधि अभद्र, अमर्यादित र तनाव सिर्जना गर्ने खालका देखिएको टिप्पणी गरे।
उनका अनुसार रास्वपाले चुनाव जित्न नसक्ने निष्कर्ष निकालिसकेको जस्तो देखिन्छ र त्यसैका कारण झण्डा जलाउने, उत्तेजना फैलाउने तथा वातावरण बिथोल्ने गतिविधि बढेका छन्। “आफ्नो पक्षमा नतिजा आउने भए चुनाव लड्ने, नआउने भए चुनाव हुनै नदिने प्रवृत्ति देखिन थालेको छ,” ओलीले भने।
ओलीले केही दिनयताका घटनाक्रमलाई आधार मान्दै रास्वपा चुनाव भाँड्ने दिशामा अघि बढेको अनुमान गर्न सकिने बताए।
साथै उनले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण हुनुपर्नेमा जोड दिए। मतदाताले कुनै दबाब वा अवरोधबिना आफ्नो मत व्यक्त गर्न पाउनुपर्ने उनको भनाइ छ। “निर्वाचन बलजफ्ती गर्ने विषय होइन, कानुन र नियमभित्र निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ,” उनले स्पष्ट पारे।
मतदानपूर्वदेखि मतगणना र परिणाम घोषणा सम्मका सबै प्रक्रिया पारदर्शी हुनुपर्ने विषय आफ्नो पार्टीले निरन्तर उठाउँदै आएको पनि ओलीले उल्लेख गरे।





