समाचार

३० वर्षपछि पुरानै घर फर्किए भरत पराजुली, रास्वपा परित्याग गर्दै कांग्रेस प्रवेश

११ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन्। लामो राजनीतिक यात्रापछि उनी पुनः आफ्नो पुरानै दल नेपाली कांग्रेस मा फर्किएका हुन्।

रास्वपाले हेटौंडा–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेकै दिन पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेसका सभापति गगनकुमार थापा ले सर्लाहीमा पार्टीमा स्वागत गरेका हुन्। पराजुलीसहित केही नेता आइतबार राति नै सर्लाही पुगेका थिए।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै पराजुलीले पार्टीभित्र देखिएको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले सीमित व्यक्तिको प्रभाव, चाकरी संस्कार, आलोचनालाई अस्वीकार गर्ने प्रवृत्ति र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको भन्दै आफू निराश भएको उल्लेख गरेका छन्।

मनहरी गाउँपालिका निवासी पराजुली ६ मंसिर २०८१ मा सम्पन्न जिल्ला भेलाबाट सर्वसम्मत रूपमा रास्वपा मकवानपुरको सभापतिमा पुनः चयन भएका थिए। यसअघि उनी कांग्रेस छोडेर रास्वपामा सक्रिय भएका थिए।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका पराजुली तेस्रो स्थानमा सीमित भएका थिए। आगामी २१ फागुनमा हुने निर्वाचनमा पुनः उम्मेदवार बन्ने इच्छा राखे पनि पार्टीबाट टिकट नपाएपछि उनी असन्तुष्ट बनेका थिए। स्रोतका अनुसार उम्मेदवारी दर्ताको अघिल्लो दिन रास्वपा सभापति रवि लामिछाने ले उनलाई फोन गरी पार्टीले योगदानको मूल्यांकन गर्ने आश्वासन दिएका थिए। तर अन्ततः पराजुलीले कांग्रेसमै फर्किने निर्णय गरे।

जिल्लाको पश्चिमी क्षेत्रमा शालीन र भद्र नेताका रूपमा छवि बनाएका पराजुलीको कांग्रेस प्रवेशले मकवानपुरको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ।