समाचार

मतदानकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान यथावत

१४ फागुन, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका दिन देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान नियमित रूपमा सञ्चालन हुने भएका छन्।

निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन र मतदान प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न निर्णय गर्दै गृह मन्त्रालयलाई आवश्यक समन्वयका लागि पत्राचार गरेको छ। सो निर्णयअनुसार मतदानको दिन पनि दुवै प्रकारका उडान यथावत रहनेछन्।

आयोगले टिकट भएका यात्रुहरूलाई सहज आवागमनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म तथा त्यहाँबाट पुनः विमानस्थलसम्म यात्रा गर्दा निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाइने बताइएको छ।

यसअघि भएका निर्वाचनहरूमा आन्तरिक उडान स्थगित गर्ने प्रचलन थियो। त्यतिबेला नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी समेत जारी गर्दै यात्रुहरूलाई पूर्वसूचना दिने गरेको थियो। यसपटक भने निर्वाचनका बीच पनि हवाई सेवा सञ्चालनमा रहने निर्णय गरिएको छ।