समाचार

प्रधानमन्त्री कार्कीका देशबासीसमक्ष चार महत्वपूर्ण आग्रह

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्की ले देश विधिको शासन र संविधानको मार्गमा दृढतापूर्वक अघि बढिरहेको बताउँदै आगामी निर्वाचनलाई शान्तिपूर्ण र ऐतिहासिक बनाउन सबैलाई आह्वान गरेकी छन्।

देशबासीका नाममा सोमबार सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबाट मुलुक स्थिरतातर्फ उन्मुख भएको उल्लेख गरिन्। यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम, धैर्य र सहकार्यको परिणाम भएको उनको भनाइ थियो।

निर्वाचनमा सहभागी हुन आग्रह

प्रधानमन्त्री कार्कीले सबै मतदातालाई आगामी निर्वाचनमा अनिवार्य रूपमा सहभागी हुन अपिल गरिन्। मतदान केवल उम्मेदवार जिताउने प्रक्रिया मात्र नभई आफ्नो र सन्तानको भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णय भएको उनले स्पष्ट पारिन्। फागुन २१ गते हुने मतदानमा अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न उनले आग्रह गरिन्।

मौन अवधिमा अनुशासनको पालना

निर्वाचनको सँघारमा शान्ति र अमनचयन कायम राख्नुपर्नेमा जोड दिँदै उनले स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको आधार भए पनि आपसी मनमुटाव र वैमनस्य बढ्न नदिन सचेत रहन सबैलाई अनुरोध गरिन्।
उनले राजनीतिक दल, स्वतन्त्र उम्मेदवार र समर्थकहरूलाई मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा प्रचारप्रसारका क्रममा संयमित र सम्मानजनक व्यवहार गर्न आग्रह गरिन्।

निर्वाचन आयोग, सुरक्षा निकाय र कर्मचारीहरूको तयारीको प्रशंसा गर्दै सरकारले निष्पक्ष, स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्ण प्रतिबद्धता जनाएको उनले बताइन्। साथै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूले दिएको सहयोगप्रति आभार व्यक्त गरिन्।

होली र निर्वाचनको उत्साह

निर्वाचनकै आसपास परेको फागुपूर्णिमा (होली) पर्वको अवसरमा शुभकामना दिँदै उनले रङहरूको पर्वले एकता र सद्भावको सन्देश दिने बताइन्। निर्वाचनको रङ र होलीको रङ मिलेर देशभर नयाँ ऊर्जा र उत्साह फैलियोस् भन्ने कामना गरिन्।

विदेशमा रहेका नेपालीको सुरक्षामा ध्यान

प्रधानमन्त्री कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार सचेत रहेको उल्लेख गरिन्। त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको जानकारी दिइन्।
विदेशमा रहेका प्रत्येक नेपालीको सुरक्षा र हितको रक्षा गर्न सरकार सदैव प्रतिबद्ध रहेको उनले पुनः दोहोर्‍याइन्।

प्रधानमन्त्री कार्कीको सम्बोधनले शान्ति, एकता र सक्रिय नागरिक सहभागितामार्फत लोकतन्त्र सुदृढ गर्ने सन्देश दिएको छ।