अन्तर्राष्ट्रिय

अमेरिका-इजरायलको चौथो दिनसम्म संयुक्त बमबारी: इरानमा सयौंको मृत्यु, हर्मुज बन्दको चेतावनी

२० फागुन, काठमाडौं । अमेरिका र इजरायलले लगातार चौथो दिन इरानका विभिन्न सैन्य तथा रणनीतिक संरचनामाथि संयुक्त बमबारी जारी राखेका छन् । हमलापछि क्षेत्रीय तनाव झन् चर्किएको छ भने मानवीय क्षति बढ्दो छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना तथा नेतृत्व संरचना “लगभग समाप्त भइसकेको” दाबी गरेका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले पहिलो चरणको आक्रमणमै ४९ जना इरानी नेताहरू मारिएको र नयाँ नेतृत्वमाथि पनि पुनः प्रहार गरिएको बताएका छन् ।

उता, इजरायली सेनाले तेहरानस्थित राष्ट्रपति कार्यालय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् भवन तथा गोप्य परमाणु परिसरमा आक्रमण गरिएको जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार कुद्स फोर्सअन्तर्गत लेबनान कोर्प्सका कार्यवाहक कमान्डर दाउद अलीजादेह मारिएका छन् ।

अमेरिकी सेनाको युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्डले रिभोलुसनरी गार्ड्सका कमान्ड–एण्ड–कन्ट्रोल संरचना, क्षेप्यास्त्र प्रक्षेपण स्थल, ड्रोन अड्डा र सैन्य हवाई अड्डाहरू ध्वस्त पारिएको दाबी गरेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले उपग्रह तस्बिरका आधारमा नतान्जस्थित भूमिगत परमाणु केन्द्रको प्रवेश संरचनामा क्षति पुगेको पुष्टि गरेको छ । तर मुख्य केन्द्र सुरक्षित रहेको र रेडियोधर्मी चुहावट नभएको इरानले जनाएको छ ।

इरानी रेड क्रिसेन्टका अनुसार शनिबारदेखि हालसम्म करिब ८ सय जनाको मृत्यु भइसकेको छ । मानवअधिकार संस्था एचआरएनएले १७६ बालबालिकासहित ७४२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।

जवाफस्वरूप इरानले इजरायल तथा अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकहरूमा सयौं क्षेप्यास्त्र र ड्रोन प्रहार गरिरहेको छ । मंगलबार राति कतारस्थित अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र खसेको पुष्टि भएको छ । इजरायलमा १० जनाको मृत्यु भएको छ भने कुवेतमा ६ अमेरिकी सैनिक मारिएका छन् ।

इरानले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने हर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी दिएको छ । यस कदमले विश्व ऊर्जा बजारमा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

बेलायत र फ्रान्सले पनि पूर्वी भूमध्यसागर क्षेत्रमा सैन्य उपस्थिति बढाउने घोषणा गरेका छन् । द्वन्द्व झन् विस्तार हुने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आह्वान गरेको छ ।