२१ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा देखा परिरहेको लोकप्रियतावाद (पपुलिजम) र अराजकतावाद (एनार्किजम) नेपालको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेपछि पत्रकारसँग छोटो कुराकानी गर्दै महासचिव पोखरेलले भने, “लोकतन्त्रलाई सही दिशा प्रदान गर्ने विश्वासका साथ मैले मतदान गरेको छु। यतिबेला हाम्रो समाजमा देखा परिरहेको पपुलिजम र एनार्किजम नेपालको राजनीतिक स्थायित्वको चुनौतीका रूपमा रहेको छ।”
उनले यसपटकको निर्वाचनले सबै समस्याको समाधान नहुँला पनि सही बाटो समात्ने र भविश्यमा लोकतन्त्रको स्थायित्व सुनिश्चित गर्ने आधार प्रदान गर्ने आशा व्यक्त गरे।
महासचिव पोखरेलले नेपालको प्रमुख राजनीतिक दलहरू नै चुनावबाट मुख्य शक्तिका रूपमा स्थापित हुनेमा कुनै शंका नरहेको पनि बताए। उनले भने, “नेपालका प्रमुख राजनीतिक दलहरू जो विचारधाराको आधारमा उभिएका छन्, उनीहरू नै मुख्य शक्तिका रूपमा स्थापित हुने कुरामा कुनै शंका छैन। मुलुकलाई अराजकता र विध्वंसतर्फ लैजाने कुरा मुलुकको दीर्घकालीन हितमा हुँदैन भन्ने कुरा नेपाली जनताले महसुस गरेका देखिन्छन्।”
पोखरेलको यस टिप्पणीले आगामी निर्वाचनसँग सम्बन्धित राजनीतिक दृष्टिकोण र लोकतन्त्रको दीर्घकालीन स्थायित्वप्रति उनको चिन्तालाई उजागर गरेको छ।





