समाचार

काँग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीको जिल्ला झापा र सर्लाहीमा रास्वपाको क्लीन स्वीप

२४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाको निर्बाचन जिल्ला सर्लाही र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापामा रास्वपाले क्नीनस्वीप गरेको छ ।

सभापति थापा र अध्यक्ष ओलीले त फराकिलो मतान्तरले पराजय भो नै सर्लाहीका ४ वटा र झापाको पाँचवटै क्षेत्रमा एउटा पनि काँग्रेस वा एमालेका उम्मेद्वारलाई विजय गराउन सकेनन् । यसमा पनि ओलीले छ झण्डै ५० हजार मतको अन्तरले रास्वपाका बरिष्ठ नेतासँग पराजीत भए ।

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् ।

झापा २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् ।

झापा ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, झापा ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्लाही–१ मा रास्वपाकी कार्की विजयी
बरहथवा (सर्लाही), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नितिमा भण्डारी (कार्की) विजयी भएका छन् । उनले कूल ४४ हजार १८१ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८१७ मत मात्र प्राप्त गरे भने नेकपा (एमाले)का मनोजकुमार देवकोटाले छ हजार १०१, नेकपाका उम्मेदवार प्रमोदकुमार साहले पाँच हजार ४९८, जनता समाजवादी पार्टीका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गरे ।

सर्लाही–२ मा रास्वपाका महतो विजयी
बरहथवा (सर्लाही), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी भएका छन् ।

आज दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गरे । सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गरे । साथै नेपाली कांग्रेसका सरोजकुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमदले दुई हजार २८३ मत मात्र प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

सर्लाही–३ मा रास्वपाका साह विजयी
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका छन् ।

निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार उनले ४६ हजार ८९० मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरे । रास्वपाका साह यस क्षेत्रमा पनि मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता कायम गरेका थिए।

नवनिर्वाचित साहले ३३ हजार ५५२ मतान्तरले विजयी भएका हुन् । निर्वाचन परिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार हरिप्रसाद उप्रेतीले पाँच हजार ७७६, नेपाली कांग्रेसका उम्मेदवार विनोद खनालले छ हजार ६२४ र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवनकुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गरेका थिए । शुक्रबार बिहानबाट सुरु भएको मतगणना आज बिहान सम्पन्न भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

साहलाई तेस्रो प्रयासमा सफलता

आसन्न निर्वाचनमा विजयी भएका साहलाई तेस्रो प्रयासमा सफलता मिलेको छ । दोस्रो संविधानसभाका समानुपातिक सदस्य साहले २०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, तत्कालीन माओवादी केन्द्रका नेता रामेश्वर राय यादवसँग उनी पराजित भएका हुन् । साहले २०७९ मा तत्कालीन माओवादी केन्द्रबाटै चुनावी मैदानमा होमिएका थिए ।

त्यतिबेला पनि उनी झिनो मतान्तरले एमालेका उम्मेदवार उप्रेतीसँग पराजित भए । निरन्तर प्रतिनिधिसभा निर्वाचनमा मैदानमा होमिदै आएका उनले यसपटक भने उम्मेदवारी दर्ताको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर आएका थिए । यसपटक भने उनले प्रत्यक्षतर्फबाट संसद् यात्रा तय गर्न सफल भएका हुन् । एक लाख ३४ हजार ४१२ जना मतदाता रहेको यस क्षेत्रमा ८२ हजार २७२ मत खसेको थियो ।

सर्लाही–४ मा रास्वपाका सिंह विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६८८ मत प्राप्त गर्नु हुँदा उनको निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८३८ मत पाए । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।

नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले नौ हजार ३४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।