२४ फागुन, काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल निर्वाचित भएका छन्।
पूर्व एआईजीसमेत रहेका पोखरेलले कुल १३ हजार ९५३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए। दुवै उम्मेदवारबीचको मतान्तर अत्यन्तै झिनो, मात्र ५ मत रहेको छ।
निर्वाचन परिणाम अनुसार नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङ ११ हजार २९६ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरिन्।
त्यस्तै, श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८५८ मत पाएका छन्। उज्यालो नेपाल पार्टीका किशोरी कार्कीले ९६५, मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३ र राप्रपाका डिकप्रसाद बास्तोलाले १७८ मत प्राप्त गरेका छन्।



