२४ फागुन, काठमाडौं । गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनका क्रममा भएका घटना तथा सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरू आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाइने बताएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
गत भदौ २३ र २४ गतेका घटनामा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन गरिएको आयोगले तेस्रो पटक थपिएको म्याद सकिनुभन्दा एक दिनअघि प्रतिवेदन बुझाएको हो ।
जेनजी आन्दोलनपछि कार्की नेतृत्वको अन्तरिम चुनावी सरकार गठन भएसँगै असोज ५ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगको अध्यक्षमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की रहेका छन् भने सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी रहेका छन् ।





