आर्थिक

ग्यासको कृत्रिम अभाव र कालोबजारी गर्नेविरुद्ध कडा कारबाहीको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी रकम असुल्ने विक्रेतामाथि कडा कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।

मंगलबार जारी गरिएको विज्ञप्तिमा महासंघले हाल बजारमा ग्यास अभाव भएको र केही स्थानमा विक्रेताहरूले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार मध्यपूर्वमा पछिल्लो समय बढ्दै गएको अशान्तिका कारण भविष्यमा ग्यास आपूर्तिमा समस्या आउन सक्छ भन्ने चिन्ता उपभोक्तामा देखिनु स्वाभाविक हो। तर यस्तो परिस्थितिको फाइदा उठाउँदै उपभोक्तालाई बढी मूल्यमा ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको महासंघले स्पष्ट पारेको छ।

महासंघले देशभरका ग्यास विक्रेतालाई कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र जिम्मेवार रूपमा सेवा प्रदान गर्न आग्रह गरेको छ। साथै संकटको अवस्थामा उपभोक्तालाई ठगी गर्ने विक्रेता वा ग्यास उद्योगीलाई पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।

त्यस्तै, यस्ता गैरकानुनी कार्यमा संलग्न जोकोहीलाई कारबाही हुने जानकारी जिल्ला संघमार्फत देशभरका विक्रेतालाई गराउन पनि महासंघले निर्देशन दिएको छ।