२६ फागुन, काठमाडौं । बजारमा पछिल्लो दुई महिनादेखि देखिएको एलपी ग्यासको अभाव बढ्दै गएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग विस्तृत विवरण माग गरेको छ।
मंगलबार विभागले ग्यासको माग, आपूर्ति, उद्योगको संख्या तथा अभावका कारणबारे जानकारी माग्दै निगमलाई पत्राचार गरेको हो।
विभागका निर्देशक तथा सूचना अधिकारी नरहरि तिवारीका अनुसार ग्यास अभावको समस्या समाधानका लागि मंगलबार विभागमा विभिन्न चरणमा बैठक बसेको थियो। बैठकपछि निगमसँग विगत एक वर्षको ग्यास माग र आपूर्तिको मासिक विवरण उपलब्ध गराउन भनिएको उनले बताए।
उनका अनुसार विभागले ग्यास उद्योगहरूको संख्या, उनीहरूलाई दिइएको पीडीओ (Product Delivery Order), काठमाडौं उपत्यकाको ग्यास माग र आपूर्तिको अवस्थाबारे तथ्यांक मागेको छ। साथै गत वैशाख महिनादेखि कुन महिनामा कति ग्यास आपूर्ति गरिएको थियो भन्ने विस्तृत विवरण पनि पेश गर्न भनिएको छ।
तिवारीका अनुसार भोलि बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा अर्को बैठक बस्ने तयारी गरिएको छ। उक्त बैठकमा हालको ग्यास संकट समाधानका लागि स्पष्ट कार्ययोजना सहित उपस्थित हुन नेपाल आयल निगमलाई निर्देशन दिइएको छ। निगमलाई ‘संकट व्यवस्थापन योजना’ तयार गरी पेश गर्न पनि भनिएको छ।
यसैबीच ग्यासको कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि रोक्न विभागले बजार अनुगमनलाई कडा बनाएको छ। विभाग र आयल निगमका संयुक्त टोलीहरू बजार अनुगमनमा खटिएको तिवारीले जानकारी दिए।
उनका अनुसार निगमले बजारमा ग्यास आपूर्तिमा कुनै समस्या नभएको दाबी गरे पनि अनुगमनका क्रममा भने उपभोक्ताले ग्यास नपाएको अवस्था देखिएको छ। ग्यास नपाएको भन्दै उपभोक्ताको गुनासो बढेपछि विभागले निगरानी र सक्रियता बढाएको हो।





