मौसम

काठमाडौंमा वायु प्रदूषण चरम, स्वास्थ्यमा गम्भीर असर

२६ फागुन, काठमाडौं । पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकामा घाम झिलिमिली देखिएको छैन भने वायू प्रदूषणले सामान्य जनजीवन प्रभावित बनाएको छ। उपत्यकामा बसोबास गर्ने नागरिकहरू आँखा जल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने जस्ता समस्या भोगिरहेका छन्।

घट्टेकुलो बस्ने ३१ वर्षीय अर्जुन घिमिरे भन्छन्, “बिहान अफिस जान निस्किँदा आँखामा अचानक पिरो लाग्यो र केही समयपछि आँखामा गेडी पनि दुख्न थाल्यो। यस्तो समस्या अहिले धेरैले भोग्न थालेका छन्।”

स्विट्जरल्याण्डको आईक्यू एयरको रियल टाइम डेटा अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) मंगलबार बिहान ९ बजे २०६ पुग्यो। विशेषज्ञका अनुसार एक्यूआई १५० भन्दा माथि पुग्दा स्वास्थ्यमा समस्या देखिन सक्छ, तर २०० माथि पुग्नु भने अत्यन्तै अस्वस्थ मानिन्छ। यही कारण काठमाडौं हाल विश्वका अस्वस्थ शहरमध्ये तेस्रो स्थानमा पुगेको छ।

बिरामीको संख्या बढ्दै

वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार पछिल्लो एक महिनामा श्वासप्रश्वाससम्बन्धी बिरामी अस्पतालमा उल्लेख्य रूपमा बढेका छन्। रुघाखोकी, ब्रोंकाइटिस, दम, निमोनिया र विभिन्न भाइरल संक्रमणका केसहरू बढ्न थालेका छन्। डा. पंगेनी भन्छन्, “हरेक दिन पाँचदेखि सात जनामा इन्फ्लुएन्जा पोजिटिभ देखिन्छ। रुघाखोकी र ब्रोंकाइटिसका बिरामीलाई औषधि पनि पर्याप्त काम नगर्न सक्छ।”

वायु प्रदूषणले विशेषगरी पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्षमाथिका वृद्धवृद्धा र दीर्घरोगीलाई बढी प्रभावित पार्छ। प्रदूषित हावाले फोक्सोमा संक्रमण बढाउँछ, खोकी र सास फेर्न कठिनाइ ल्याउँछ, र केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँछ।

स्वास्थ्य मन्त्रालयको चेतावनी

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नागरिकहरूलाई अनुरोध गरेको छ। आवश्यक अवस्थामा मास्क लगाउन, आँखा जोगाउन चस्मा प्रयोग गर्न र शरीर छोप्ने कपडा लगाउन सुझाव दिइएको छ। बिहान र साँझको समयमा प्रदूषणको मात्रा बढी हुने भएकाले वाकिङमा ननिस्कन सुझाव दिइएको छ।

दीर्घकालीन असर

डा. पंगेनी र डा. राजेन्द्र कोजुका अनुसार प्रदूषित हावा केवल फोक्सोमा असर गर्दैन; यसले मुटु, रक्तसञ्चार प्रणाली र अन्य अंगमा समेत दीर्घकालीन असर पुर्याउन सक्छ। वायु प्रदूषणका सूक्ष्म कण रगतमार्फत शरीरभरि फैलिँदै विभिन्न रोगहरूको जोखिम बढाउँछ।

डा. कोजु भन्छन्, “वायु प्रदूषण ‘साइलेन्ट किलर’ हो। यसले तुरुन्त मार्दैन तर विस्तारै मानिसको स्वास्थ्य बिगार्दै जाँछ।”

प्रदूषण बढ्नुको कारण

काठमाडौंमा वायु प्रदूषण बढ्नु नयाँ होइन। तर हालको मौसम – जाडो, कम हावा, वर्षा नहुने – ले प्रदूषित कणहरू सतहमा जम्मा गरिरहेको छ। सवारीसाधन, उद्योग, दाउरा र वनडढेलो, जाडोमा खाना पकाउने आगो आदि प्रदूषणका मुख्य स्रोत हुन्।

विज्ञहरूले वायु प्रदूषण घटाउन शहरीकरणको योजना, नवीकरणीय ऊर्जा प्रयोग, रुख–बिरुवा लगाउने र फोहोर व्यवस्थापन सुधार्ने सुझाव दिएका छन्।