२७ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको मिसाइल तथा ड्रोन आक्रमणमा परी हालसम्म १५ नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको छ।
मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेका छन्। बाँकी एकजनाको उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको छ।
इरान र इजरायल–अमेरिका बीच बढ्दो तनावका कारण मध्यपूर्वमा आक्रमण–प्रत्याक्रमण जारी रहेको छ। यस क्रममा इरानले खाडी र पश्चिम एसियाका अमेरिकी सैन्य ठिकानामा मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
ड्रोन आक्रमणको समयमा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्यु भएको थियो। उनकाे शव नेपाल ल्याएर अन्त्येष्टि गरिसकिएको छ भने उनको क्षतिपूर्ति सुनिश्चित गर्न यूएईस्थित नेपाली दूतावास मार्फत पहल भइरहेको छ। अन्य नेपालीहरू भने सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।





