आर्थिक

विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो, ७ महिनामा २३ प्रतिशत वृद्धि

काठमाडौं, २७ फागुन । मुलुकको विदेशी मुद्रा सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्षको ७ महिनामा यो रकम २३.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको मुद्रा सञ्चिति माघ मसान्तसम्म ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा सञ्चिति पनि १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड डलर पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ छ भने बैंक तथा वित्तीय संस्थाहरूमा ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ।

राष्ट्र बैंकका अनुसार, हालको मुद्रा सञ्चितिमा भारतीय मुद्राको हिस्सेदारी सबैभन्दा धेरै २१.५ प्रतिशत छ। यस सञ्चितिले हालको आयातको आधारमा बैंकिङ क्षेत्रले २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।