२८ फागुन, पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ। हृदयघात भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उनको निधन भएको पुष्टि एमाले कास्कीका अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले गरेका छन्। अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ।
बिहीबार एमाले कास्कीले चुनावी समीक्षा बैठक आयोजना गरेको थियो। सोही बैठकका क्रममा थापा अचानक ढलेका थिए। त्यसपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
थापा २०५४ सालमा पोखरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य बनेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उनले पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए तर पराजित भएका थिए।
हालैको निर्वाचनका लागि सुरुवातमा मेयर पदको टिकट पनि थापाले पाएका थिए। तर पछि उक्त टिकट रश्मी आचार्यलाई दिइएको थियो।
थापा एमाले कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत थिए। जनआन्दोलनपछिको पार्टी महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्यसमेत बनेका थिए।




