काठमाडौं, २८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशमा प्रत्यक्षतर्फका उम्मेदवारहरूले पाएको मतभन्दा समानुपातिकतर्फ बढी मत पाएको तथ्यांक सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार रास्वपाले बागमती प्रदेशबाट समानुपातिकतर्फ ११ लाख १९ हजार २७० मत पाएको छ। यो प्रदेशमा कुल ३३ वटा निर्वाचन क्षेत्र रहेका छन् र ती सबै क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको थियो।
उक्त ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने दुई क्षेत्रमा पराजित भएका छन्। सबै उम्मेदवारहरूले प्रत्यक्षतर्फ पाएको मत जोड्दा भने ९ लाख ६० हजार ३११ मात्र पुग्छ, जुन समानुपातिकतर्फ पाएको मतभन्दा कम हो।
बागमती प्रदेशमा रास्वपाको अवस्था यस्तो देखिए पनि नेपाली कांग्रेस र नेकपा एमालेको स्थिति भने उल्टो देखिएको छ।
कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारहरूले कुल ३ लाख ६७ हजार ४९१ मत पाएका छन् भने समानुपातिकतर्फ ३ लाख २१ हजार १०६ मत प्राप्त गरेका छन्।
त्यस्तै एमालेका उम्मेदवारहरूले प्रत्यक्षतर्फ ४ लाख ८८ हजार ८६३ मत पाएका छन्। तर समानुपातिकतर्फ भने एमालेले २ लाख ६१ हजार ८९७ मत मात्रै प्राप्त गरेको छ।
यसै प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ १ लाख ८८ हजार १८२ मत प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७६ हजार ५२१ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३१ हजार ४९३ मत प्राप्त गरेको आयोगको तथ्यांकमा उल्लेख छ।
बागमती प्रदेशमा देखिएको यो मत परिणामले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबीचको मत व्यवहारबारे नयाँ बहस सुरु गरेको छ।





