२९ फागुन, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८१र८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ ।
त्यस्तै, बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८१र८२ को वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरणसमेत सभाले छलफल गरी पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
सभामा अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका प्रमुख उपलब्धिबारे जानकारी दिएका थिए । कार्यक्रममा शेयरधनीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । विशेषगरी नवजात शिशुको अकाल मृत्यु रोकथामका लागि ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष दुई हजार पाँच सयभन्दा बढी शिशुको जीवन रक्षा गर्न योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०८१र८२ मा संस्थाले करस्वरूप करीब ४१ करोड रुपैयाँ योगदान गरेको छ । हाल बैंकको चुक्तापूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
ज्योति विकास बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।





