समाचार

इतिहासशिरोमणि आचार्यको १३९औँ जन्मजयन्तीः कुलपति राईले भने, ‘नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ प्रेरित गर्न कार्यक्रम आवश्यक’

२९ फागुन, काठमाडौं । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विशेष विचार–गोष्ठी प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

प्रा.डा. सुरेन्द्र केसीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा. वीणा पौडेलले “बाबुराम आचार्य र नेपालको इतिहास” विषयमा प्रवचन प्रस्तुत गर्नुभएको थियो । प्रवचनमा आचार्यले नेपालको इतिहास अनुसन्धान, लेखन तथा दस्तावेजीकरणमा पुर्‍याएको अतुलनीय योगदानबारे प्रकाश पारिएको थियो ।

कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठले टिप्पणी प्रस्तुत गर्दै बाबुराम आचार्यले नेपाली इतिहास लेखनको क्षेत्रमा पुर्‍याएको योगदान र त्यसको समकालीन महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न विद्वान, अनुसन्धानकर्ता, इतिहासप्रेमी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहनुका साथै कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ परिषद्का सदस्यहरूको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति भूपाल राईले इतिहासशिरोमणि बाबुराम आचार्यले नेपाली इतिहासको अध्ययन, अनुसन्धान र दस्तावेजीकरणमा पुर्‍याएको योगदान अमूल्य रहेको बताए । उनले आचार्यका कृतिहरूले नेपाली इतिहासको वास्तविक स्वरूप उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ पुस्तालाई इतिहास अध्ययनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखे ।

त्यस्तै, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रष्ठिानका उपाध्यक्ष एबम् कार्यक्रमका सभापति प्रा.डा. सुरेन्द्र केसीले बाबुराम आचार्य नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनका अनुसन्धान र लेखनले नेपालको इतिहासलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न ठूलो योगदान पुर्‍याएको बताए । उनले इतिहासको अध्ययनलाई अझ गहिरो र प्रमाणमा आधारित बनाउन आचार्यका कृतिहरू आज पनि मार्गदर्शक रहेको धारणा व्यक्त गरे।

सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली इतिहास लेखनका अग्रणी व्यक्तित्वका रूपमा परिचित इतिहासशिरोमणि बाबुराम आचार्यले नेपालको इतिहासको खोज, अध्ययन र अभिलेखीकरणमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए । सुवेदीले इतिहासशिरोमणि बाबुराम आचार्यको जन्मजयन्तीको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा इतिहासप्रतिको रुचि बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमको सहजीकरण इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले गरेका थिए । उनले इतिहासशिरोमणि बाबुराम आचार्य चाकरी नगर्ने बौद्धिक ब्यक्तीत्व भएको भन्दै उनको सम्मानका लागि सरकार, नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका संसथाहरुले धन दिनुपर्ने भन्दै प्रतिष्ठानले पनि प्रवर्धनका लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गरे ।