अन्तर्राष्ट्रिय

लेबनानमा नेपाली शान्ति सेनाको ब्यारेकमा आक्रमण

३० फागुन, लेबनान । दक्षिण लेबनानमा शुक्रवार राति भएको इजरायली हवाई आक्रमण १३ जनाको मृत्यु भएको छ । लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त राष्ट्र संघको अन्तरिम बलको नेपाली बटालियन परिसरमा पनि गोला प्रहार भएको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार इजरायली आक्रमणले इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन बिन्दुलाई प्रत्यक्ष निशाना बनाएको थियो । यसमा दुई उद्धारकर्ताको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

नाबातिएहमा, इजरायली युद्धविमानले अल–राहिबात छिमेकको एउटा घरमा आक्रमण गर्दा एक बालिकासहित ६ जनाको मृत्यु भएको लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । अर्को इजरायली आक्रमण दक्षिण सीमावर्ती सहर बिन्त जबेलमा भएको थियो जहाँ तीन जनाको मृत्यु भयो । त्यस्तै, तटीय शहर गाजिएहमा एउटा भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको ज्यान गएको छ ।

राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली गोलाहरू दक्षिण लेबनानी सीमावर्ती गाउँ मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसर भित्र पनि खसेका थिए । बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले यस आक्रमणको कडा निन्दा गरेको छ ।

विज्ञप्तिमा कुनै पनि नेपाली सैनिक घाइते नभएको उल्लेख गरिएको छ । तर संयुक्त राष्ट्र संघको शान्ति सेनाको स्थानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा गर्ने सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको कुरामा जोड दिइएको छ ।

मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसरमा इजरायली गोलाहरू खसेका छन् । मानार्थ महावाणिज्य दूतावासका अनुसार कुनैपनि नेपाली सैनिक घाइते भएका छैनन् ।

यसैबिच, हिजबुल्लाहले इजरायली लक्ष्यहरू विरुद्ध धेरै प्रतिशोधात्मक कारबाहीहरू गरेको बताएको छ ।