समाचार

समानुपातिक सांसदको नाम टुंग्याउन एमाले सचिवालय बैठक जारी

काठमाडौं, ३० फागुन । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसिरहेको हो।

२१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा तथा समानुपातिकतर्फबाट निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरूको नाम टुंगो लगाउन बैठक बसेको हो।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाइने सांसदहरूको नाम अन्तिम रूप दिने तथा निर्वाचन परिणामबारे समग्र समीक्षा गर्ने विषयमा छलफल भइरहेको छ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचित उम्मेदवारहरूको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई आजसम्मको समयसीमा दिएको छ। सोही समयसीमालाई ध्यानमा राख्दै एमालेले आजको बैठकबाट आफ्नो सूची टुंगो लगाउने तयारी गरेको बताइएको छ।