१ चैत, काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्णयहरूबारे जानकारी दिएका हुन्।
सरकारले भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। उक्त प्रतिवेदन अध्ययन गरेर आवश्यक कदम चालिने सरकारको भनाइ छ।
त्यसैगरी, बैठकले राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
युद्ध प्रभावित पश्चिम एसियाली मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन पनि बैठकले विशेष व्यवस्था गर्ने निर्णय गरेको छ। यसका लागि रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामाबाद, काइरो र तेल अविवस्थित नेपाली राजदूतावासहरू तथा जेद्दा र दुबईस्थित नेपाली महावाणिज्य दूतावासहरूलाई आवश्यक समन्वय र व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
यसैबीच, हिमनदी क्षेत्रका जोखिम न्यूनीकरणका लागि सञ्चालन हुने परियोजनाका लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। उक्त परियोजनाले हिमताल विस्फोटजन्य बाढी तथा जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम कम गर्दै स्थानीय जनताको जीविकोपार्जन र सम्पत्तिको संरक्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।





