समाचार

विवादित पृष्ठभूमिका आदर्शकुमार श्रेष्ठ राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनीत

१ चैत, काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्। प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेकी हुन्।

सरकारको निर्णयअनुसार श्रेष्ठ आगामी पाँच वर्षका लागि उक्त पदमा रहनेछन्। उनी यसअघि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत थिए।

श्रेष्ठ यसअघि प्रधानमन्त्रीको सचिवालयमा आफ्ना नातेदार र पत्नीलाई नियुक्त गरेको विषयमा विवादमा परेका थिए। उनले आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिव पदमा नियुक्त गरेको तथ्य सार्वजनिक भएपछि आलोचना भएको थियो।

त्यसपछि उठेको विरोधका कारण प्रधानमन्त्रीको सचिवालयमा गरिएको सबै स्वकीय नियुक्तिहरू हटाइएको थियो। प्रमुख स्वकीय सचिवले आफ्नो पदीय प्रभाव प्रयोग गरेर श्रीमतीलाई जागिरमा राखेको विषय बाहिर आएपछि उक्त कदमको व्यापक आलोचना भएको थियो।