२ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट देखिएको छ। बजार परिसूचक नेप्से २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको छ। सूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ।
अघिल्लो कारोबार दिन १४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार कारोबार रकम घटेर ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ।
आजको कारोबारमा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ। चार कम्पनीको मूल्य भने स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहका सूचक घटेका छन्। उक्त समूहको सूचक भने ०.२५ प्रतिशतले बढेको छ।
क्षेत्रगत सूचकतर्फ बैंकिङ समूह १.६१ प्रतिशतले घटेको छ भने विकास बैंक ०.८४ प्रतिशत, फाइनान्स ०.७१ प्रतिशत र होटल तथा पर्यटन समूह ०.२६ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै लगानी समूह १.५२ प्रतिशत, जीवन बीमा ०.९४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत र निर्जीवन बीमा समूह ०.४५ प्रतिशतले घटेका छन्। अन्य समूह १.०९ प्रतिशत तथा व्यापार समूह ०.२१ प्रतिशतले पनि गिरावट देखाएका छन्।
यद्यपि केही कम्पनीको सेयरमा भने उल्लेख्य वृद्धि देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनका सेयर मूल्य १० प्रतिशतले बढेका छन्।
त्यस्तै पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ६.५१ प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंक ६.३३ प्रतिशत र नेसनल हाइड्रोपावर ५.३६ प्रतिशतले उकालो लागेको छ।
गिरावटतर्फ भने नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशतले घटेको छ। ग्रिनलाइफ हाइड्रोपावरको मूल्य पनि ३.९८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपर हेवाखोला, एसवाई प्यानल र रिडी पावरका सेयरमा सबैभन्दा धेरै कारोबार भएको छ।





