२ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ भिमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्रा (डिजिटल करन्सी) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा उनीहरूलाई १ करोड १६ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा नागार्जुन–८ का २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोद प्रसाद धिताल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न बैंकका विभिन्न व्यक्तिको नाममा रहेका चेक, विभिन्न व्यक्तिको नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका चेक, विभिन्न व्यक्तिका नाममा रहेका एटीएम कार्ड र नागरिकता बरामद गरिएको छ।
यसका साथै २ थान चारपाङ्ग्रे सवारीसाधन, १ थान दुईपाङ्ग्रे सवारी, ३ थान सवारी दर्ता किताब, विभिन्न कम्पनीका ६ वटा मोबाइल, ३१ थान सिमकार्ड र १ थान कम्प्युटर समेत प्रहरीले फेला पारेको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध अनुसन्धान अगाडि बढाउन प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।





