२ चैत, काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास सिलिन्डर स्टक गरेर राखिएको भेटिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको अनुगमन टोलीले डिपोमा १४.२ केजीका ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर थुपारेर राखिएको फेला पारेको हो। अनुगमनका क्रममा उद्योगले उक्त सिलिन्डर बजारमा पठाउन ढिलाइ गरेको पाइएको विभागले जनाएको छ।
विभागका अनुसार यसले उपभोक्तालाई मर्का पर्ने गरी कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै उद्योगमाथि कारबाही गरिएको हो। उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै उद्योगलाई ३ लाख रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।
विभागले जरिबाना मात्र नगरी डिपोमा मौज्दात अवस्थामा रहेका सबै सिलिन्डरलाई नेपाल आयल निगमको समन्वयमा तत्काल बजारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ।
विभागका महानिर्देशक रोशन ज्ञवालीले बजारमा ग्यास अभाव हुँदा पनि डिपोमा ठूलो परिमाणमा सिलिन्डर जम्मा गरेर राख्नु गैरकानूनी भएको बताए। उनले यस्तो कार्यले उपभोक्तालाई सास्ती दिने र कृत्रिम अभाव सिर्जना गर्ने भएकाले कारबाही गरिएको स्पष्ट पारे।
‘बजारमा उपभोक्ता ग्यास नपाएर लाइनमा बसिरहेका छन् तर डिपोमा हजारौं सिलिन्डर थुप्रिएको अवस्था देखियो,’ उनले भने, ‘यसले कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भएको स्पष्ट हुन्छ।’
विभागले बजारमा ग्यास आपूर्ति सहज बनाउन अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको जनाएको छ। कसैले ग्यास होल्ड गरेर अभाव सिर्जना गर्ने वा कालोबजारी गरेको पाइए कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।
उता श्रीराम ग्यासका बिक्रेताहरूले भने उद्योगबाट ग्यास नआएकाले उपभोक्तालाई नियमित रूपमा बिक्री गर्न नसकिएको बताएका छन्।





