राजनीति

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन्। त्यसका लागि दीर्घकालीन लगानी संरचना निर्माण गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो ।

काठमाडौँमा आयोजित गैरआवासीय नेपाली सङ्घ ९एनआरएनएको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा आज प्रधानमन्त्री कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उहाँहरूको योगदानको प्रशंसा गरे।

उनले गैरआवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री कार्कीले हालै सम्पन्न महाधिवेशनबाट सङ्गठनभित्र देखिएको विभाजन अन्त्य भई एउटै मञ्चमा एकता कायम हुनु सकारात्मक भएको बताए। उनले एकता र सहकार्यबाट मात्रै विश्वभर रहेका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राखे ।

नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्ध अझ सुदृढ बनाएको बताए ।

नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहित सङ्घको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले गैरआवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण हुने बताए।

प्रधानमन्त्री कार्कीले नेपाललाई अवसरयुक्त र समृद्ध राष्ट्र बनाउन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक रहेको धारणा राखे । उनले यस महाधिवेशनबाट व्यक्त भएको एकता र प्रतिबद्धताले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरे।