४ चैत, काठमाडौं । संसदीय अंकगणितमा परिवर्तनसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालय पनि स्थान परिवर्तन हुने भएको छ। संघीय संसद् सचिवालयले हाल प्रयोगमा रहेका कार्यलयहरूबाटै दलहरूको कार्यालय व्यवस्थापन गर्ने तयारी गरेको छ।
यसअन्तर्गत, पहिले नेपाली कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको भवन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई उपलब्ध गराउने योजना छ। अघिल्लो कार्यकालमा रास्वपाले प्रयोग गरेको कार्यालय भने साना दलहरू-जस्तै नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), र श्रम संस्कृति पार्टीका लागि व्यवस्थापन गरिएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेका लागि भने पहिले जहाँ कार्यालय थियो, त्यहीँ कार्यालय रहनेछ। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, “हाम्रो उद्देश्य राजनीतिक दलहरूको संसदीय दलको कार्यालयको लागि भएका उपलब्ध ठाउँको सदुपयोग गर्नु हो।”
संसद् सचिवालयले निर्वाचनबाट आएका दलहरूसँग अनौपचारिक छलफल पनि गर्ने तयारी गरेको छ। यसमा कार्यालय व्यवस्थापन र अन्य व्यवस्थाका विषयमा कुरा हुने बताइएको छ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनअनुसार ६ दल राष्ट्रिय दलको रुपमा आउँदा, १६२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेस ३८, एमाले ३५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, र राप्रपा ५ सिटसहित आएका छन्। एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।
संसदीय दलका सदस्य संख्या अनुसार सिंहदरबारमा दलहरूलाई कार्यालय उपलब्ध गराइने तयारी भइरहेको छ।





