काठमाडौं, ४ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते गराउने तयारी भएको छ। समानुपातिकतर्फ निर्वाचित सदस्यहरूलाई निर्वाचन आयोगले बिहीबार निर्वाचन प्रमाणपत्र प्रदान गर्नेछ। सोही दिन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने र संघीय संसद् सचिवालयलाई पनि जानकारी दिने तयारी छ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, निर्वाचन आयोगबाट जानकारी प्राप्त भएपछि शपथका मितिको सार्वजनिक सूचना जारी गर्ने तयारी छ। उनले भने, “निर्वाचन प्रतिवेदन चैत ५ गते प्राप्त भएपछिको भोलिपल्ट नै पत्रिकामा शपथको सूचना निकाल्ने तयारी छ।”
गिरीले यस विषयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल समेत हुने बताए। प्रारम्भिक तयारीअनुसार, चैत १२ गते शपथ ग्रहण गरिनेछ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ दल राष्ट्रिय दलको रुपमा अघि आएका छन्। सबैभन्दा ठूलो दल रास्वपा १६२ सिटसहित छ। त्यसपछि कांग्रेस ३८, एमाले ३५, नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित रहेका छन्। यसपटकको निर्वाचनबाट उदाएका श्रम संस्कृति पार्टी ७ र राप्रपा ५ सिटसहित राष्ट्रिय दल बनेका छन्। एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।





