राजनीति

प्रधानमन्त्रीमा शाह फिक्स, सपथ १३ गतेका लागि निश्चित

५ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाइएपछि नयाँ सरकार गठनको प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। यससँगै अब प्रधानमन्त्रीमा शाह नियुक्त हुने लगभग निश्चित भएको छ भने शपथ कार्यक्रम चैत १३ गतेका लागि तय गरिएको छ।

निर्वाचन आयोगले कानुनी व्यवस्थाअनुसार मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेसँगै संविधानको धारा ७६ अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ, जसले करिब दुई तिहाइ बहुमत हासिल गरेको छ। यस्तो अवस्थामा सोही दलका संसदीय दलका नेता शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी अघि बढेको हो।

यसअघि चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम तय गरिएको छ। सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बिहान राष्ट्रपतिसमक्ष शपथ लिएपछि अन्य सदस्यहरूलाई शपथ गराउनेछन्। त्यसपछि रास्वपाले संसदीय दलको नेता चयन गर्दै सरकार गठनको औपचारिक प्रक्रिया पूरा गर्नेछ।

स्रोतका अनुसार चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने तयारी गरिएको छ, जसले नयाँ सरकार गठनलाई औपचारिकता दिनेछ।

सरकार गठनपछि राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुसार चैत १६ गते पहिलो संसद् बैठक बोलाउने तयारी भइरहेको छ।

यससँगै निर्वाचनपछि राजनीतिक संक्रमणको चरण सकिँदै नयाँ सरकार र संसद् सञ्चालनको प्रक्रिया औपचारिक रूपमा सुरु हुने भएको छ।