मौसम

काठमाडौंमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

६ चैत, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा सक्रिय भइरहेको जनाएको छ। विशेषगरी काठमाडौंमा अहिले भारी वर्षा भइरहेका कारण सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई वर्षा भइरहेको हो। कर्णाली, सुदूरपश्चिम, गण्डकी, बाग्मती तथा कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ।

विभागका प्रवक्ता विभूति पोखरेलले हाल काठमाडौंमा वर्षा भए पनि हावाहुरीको प्रभाव तुलनात्मक रूपमा कम रहेको जानकारी दिनुभयो। तर वर्षा, चट्याङ र सम्भावित हावाहुरीका कारण सतर्कता आवश्यक रहेको उहाँले बताउनुभयो।

मौसमविद्का अनुसार तराईका केही क्षेत्रमा अझै पनि हावाहुरी (करिब ५०–६० किमी/घण्टा) चल्ने सम्भावना रहेको छ। यसले रुख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने, तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुनसक्ने जोखिम रहेको छ।

विपद् व्यवस्थापनविद्हरूले वर्षा र चट्याङ भइरहेको समयमा अनावश्यक रूपमा घर बाहिर ननिस्कन, रुख तथा बिजुलीका खम्बा नजिक नबस्न, तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। सवारीसाधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउनसमेत सुझाव दिइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङ पर्दा खुला स्थानमा नबस्न, सम्भव भएसम्म सुरक्षित भवनभित्र बस्न, र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन देशभर मौसम बदली रहनुका साथै वर्षा, हिमपात र चट्याङको प्रभाव जारी रहनेछ। आइतबारदेखि भने मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ।