राजनीति

प्रतिनिधिसभामा राई–लिम्बू समुदायको प्रतिनिधित्व कति प्रतिशत छ?

६ चैत, काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राई र लिम्बू समुदायले ४.३६ प्रतिशत सिट पाएका छन्। प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ४ सांसद निर्वाचित हुँदा कुल १२ जना प्रतिनिधि सभामा पुगेका छन्। प्रतिनिधिसभा २७५ सदस्यीय छ, जसमा १६५ जना प्रत्यक्षतर्फ र ११० जना समानुपातिकतर्फ निर्वाचित हुन्छन्।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट नरेन्द्र कुमार केरुङ र निश्कल राई विजयी भए। नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राजेन्द्र कुमार राई र क्षितिज थेबे निर्वाचित भएका छन्। त्यस्तै, नयाँ उदाएको श्रम संस्कृति पार्टीबाट हर्कराज राई, ध्रुवराज राई र आरेन राईले सिट पाएका छन्।

समानुपातिक तर्फ कांग्रेसबाट भिष्मराज आङ्देम्बे र गीता कुमारी सेन्दाङ, एमालेबाट भूमिका लिम्बु सुब्बा र श्रम संस्कृति पार्टीबाट पूर्णप्रसाद लिम्बु निर्वाचित भएका छन्।

यस निर्वाचनबाट ६ दलले राष्ट्रिय दलको दर्जा पाए। १८२ सिटसहित राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। त्यसपछि कांग्रेस ३८ सिटसहित दोस्रो, एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित तेस्रो दलको रूपमा रहेको छ। नयाँ उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं दल, र राप्रपा ५ सिटसहित छैठौं दल बनेका छन्। एक जना स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन्।

राई र लिम्बू समुदायको प्रतिनिधित्व नपाएपछि सबैभन्दा ठूलो दल रास्वपाले माफी मागेको छ। पार्टी सभापति रवि लामिछानेले अभिमुखीकरण कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै भने, “हाम्रो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन। म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु। आगामी दिनमा समावेशीतालाई प्राथमिकता दिनेछौं।”

यो निर्वाचनले राष्ट्रिय राजनीतिमा समुदायको सहभागिता र समावेशीताको महत्त्वलाई पुनः प्रमाणित गरेको छ, जबकि केही समुदाय अझै पनि राजनीतिक प्रतिनिधित्वको लागि संघर्षरत छन्।