८ चैत, काठमाडौं । सरकारले केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता गरी नागरिकलाई राष्ट्रिय परिचयपत्र सेवा सहज बनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्याल ले आइतबार जिल्ला प्रशासन कार्यालय, ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीलाई जानकारी दिँदै सेवाग्राहीले एउटै विवरणका लागि विभिन्न सरकारी निकायमा अलग–अलग फारम भर्न नपर्ने व्यवस्था लागू भएको बताए।
यस अन्तरआबद्धतासँगै नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता आवेदन फारम भर्ने र बायोमेट्रिक विवरणका लागि परिचयपत्र इकाईमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। यसले सेवाग्राहीको समय र आर्थिक लागत दुवै बचत हुने गृह मन्त्रालयको भनाइ छ।
मन्त्री अर्यालका अनुसार, “नागरिकमैत्री सेवा उपलब्ध गराउँदै भलन्झटरहित सेवा प्रवाह गर्ने उद्देश्यले सो व्यवस्था सुरु गरिएको हो।” प्रारम्भमा केही स्थानबाट सेवा सुरु भएको भए पनि छिट्टै देशैभरी विस्तार गरिने योजना रहेको उनले बताए।
नागरिकले अब राष्ट्रिय परिचयपत्रका लागि केन्द्रित डिजिटल प्रणाली मार्फत सहज रूपमा आवेदन दिन सक्ने भएका छन्, जसले प्रक्रिया द्रुत र सरल बनाउनेछ।



