आर्थिक

सामूहिक लगानी कोषको “लकइन पिरियड” हटाउन लाग्यो, सेयरको कारोबार खुला हुने

८ चैत, काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फन्ड)ले प्राथमिक निष्कासनमा पाएका आरक्षित सेयर बेच्न रोक्ने ‘लकइन पिरियड’ हटाउने तयारी भएको छ।

नेपाल धितोपत्र बोर्डले आईपीओपछि दोस्रो बजारमा सेयरको आपूर्ति कम हुँदा मूल्य अस्वभाविक बढ्ने समस्या देखिएपछि यो निर्णय गर्न लागेको हो। पहिले लगानीकर्ताका उजुरीका आधारमा २०८० कात्तिकदेखि ६ महिनाको ‘लकइन’ अवधि लागू गरिएको थियो। यसअघि म्युचुअल फन्डले आईपीओमा पाएको सेयर तुरुन्त बिक्री गरेर नाफा बुक गर्ने भएकाले बजारमा आपूर्ति सन्तुलन बिग्रेको थियो।

बोर्डका अधिकारीका अनुसार, अहिले बजारमा नयाँ सेयर सूचीकृत हुँदा आपूर्ति कम हुँदा मूल्य अत्याधिक बढ्ने, र लाभ म्युचुअल फन्डले मात्र पाउने समस्या देखिन थालेको छ। त्यसैले बोर्डले अध्ययन गरेर विगतको ‘लकइन’ व्यवस्था फिर्ता गर्न लागिएको हो।

लकइन अवधि हटेपछि हालसम्म रोकिएको सामूहिक लगानी कोषका सबै सेयर खरिद–बिक्री खुला हुनेछन्। बोर्डले आवश्यक प्रक्रिया पुरा गरिसकेकाले अब सञ्चालक समितिको निर्णयपछि कार्यान्वयन मात्र बाँकी रहेको अधिकारीले बताए।

सामूहिक लगानी कोष नियमावली अनुसार, सार्वजनिक निष्कासनमा कम्तिमा पाँच प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्याउनुपर्छ र बाँडफाँट अनुपातमा गर्नुपर्ने व्यवस्था छ।