९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि उनी यसबाट उम्कनका लागि सम्मानजनक बाटो खोजिरहेका बताइएको छ । अहिले उनको टोली इरानसँग सम्भावित शान्ति वार्ताका लागि रणनीति बनाउन व्यस्त रहेको जनाइएको छ ।
तीन हप्ताको युद्धपछि ट्रम्प प्रशासनले अर्को चरणका लागि प्रारम्भिक छलफल सुरु गरेको अमेरिकी समाचार पोर्टल एक्जिओसले अमेरिकी अधिकारी र स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ ।
इरानसँगको शान्ति वार्ता कस्तो स्वरूपमा हुन सक्छ भन्ने विषयमा पनि विचारविमर्श भइरहेको छ । एक्जिओस स्रोतका अनुसार, ट्रम्पका दूत जेरेड कुश्नर र स्टिभ विटकफ सम्भावित कूटनीतिबारेको छलफलमा सहभागी छन् ।
इरानले पनि देखायो कुराकानीमा चासो
अमेरिकी मिडिया आउटलेट एक्जिओसका स्रोतहरूले बताएअनुसार हालका दिनहरूमा अमेरिका र इरानबीच कुनै प्रत्यक्ष सम्पर्क भएको छैन । तर, इजिप्ट, कतार र बेलायतले दुई देशबीच सन्देश आदानप्रदानमा मध्यस्थता गरेका छन् ।
इरानले कुराकानीमा चासो देखाएको छ, तर केही अत्यन्तै कडा सर्तहरू अघि सारेको छ । इरानका मागहरूमा युद्धविराम, भविष्यमा इरानमाथि आक्रमण नहुने ग्यारेन्टी र क्षतिपूर्ति समावेश छन् ।
इरानका लागि अमेरिकाका ६ सर्त
शान्ति वार्ता र युद्धविरामका लागि अमेरिकाले पनि इरानसामु ६ वटा सर्त राखेको छ । यसमा पाँच वर्षसम्म कुनै पनि मिसाइल कार्यक्रम सुरु नगर्ने, युरेनियमको संवर्धन पूर्ण रूपमा बन्द गर्ने, आफ्ना नतान्ज, इस्फहान र फोर्डो आणविक संयन्त्रहरूलाई पूर्ण रूपमा निष्क्रिय पार्ने समावेश छ ।
यसका साथै, आणविक हतियार कार्यक्रम अगाडि बढाउन सहायक हुने सेन्ट्रिफ्यूज र सम्बन्धित मेसिनरीको निर्माण तथा प्रयोगमा कडा बाह्य निगरानी प्रोटोकल पालना गर्ने, क्षेत्रीय देशहरूसँग मिसाइलहरूको संख्या एक हजारभन्दा बढी नहुने गरी शस्त्र नियन्त्रण सन्धि गर्ने र हेजबुल्लाह, हुथी तथा हमास जस्ता प्रोक्सी संगठनहरूलाई कुनै पनि प्रकारको आर्थिक सहायता उपलब्ध नगराउने सर्तहरू पनि समावेश रहेको बताइएको छ ।





