९ चैत, धनगढी । नरनारायण शाह ‘मनु’ को विवादास्पद अभिव्यक्तिले कैलालीको राजनीतिक माहोल तातेको छ। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा कैलाली–५ बाट नेपाली कांग्रेस का उम्मेदवार बनेका शाहले आफ्नै पार्टीका ५७ जना जिम्मेवार नेताले आफूलाई हराउन विपक्षीसँग आर्थिक लेनदेन गरेको गम्भीर आरोप लगाएपछि तरंग फैलिएको हो।
धनगढीस्थित एक मिडियालाई दिएको अन्तर्वार्तामा उनले तेस्रो स्थानमा रहेका उम्मेदवारले आफूलाई यस्तो सूची दिएको दाबी गरेका छन्। उक्त प्रसंगलाई लिएर ती तेस्रो उम्मेदवार प्रेमबहादुर आले भएको अनुमान गरिएको छ, यद्यपि शाहले प्रत्यक्ष रूपमा नाम भने उल्लेख गरेका छैनन्।
यता, उक्त आरोप सार्वजनिक भएसँगै कांग्रेसभित्रै असन्तोष चुलिएको छ। कैलाली जिल्ला कार्यसमितिले विज्ञप्ति जारी गर्दै आरोप पुष्टि गर्न प्रमाणसहित नाम सार्वजनिक गर्न शाहलाई चुनौती दिएको छ। “५७ जना को–को हुन्, प्रष्ट पार्नै पर्छ,” भन्दै पार्टीले आवश्यक परे छानबिन र कारबाहीको चेतावनी समेत दिएको छ।
उता, आलेले भने आफूमाथि लगाइएको आरोपलाई पूर्णतः अस्वीकार गर्दै चरित्र हत्या गर्ने नियतले भ्रम फैलाइएको बताएका छन्। उनले कथित सूची सार्वजनिक गर्न चुनौती दिँदै कानुनी कारबाहीसम्म जाने चेतावनी दिएका छन्।
विवादबीच शाहले भने हाल आफूसँग ठोस प्रमाण अभाव रहेको स्वीकार गर्दै थप तथ्य संकलन गर्ने प्रयास भइरहेको बताएका छन्। यस प्रकरणले कैलालीको राजनीतिक वातावरण झनै तात्ने संकेत देखिएको छ।





