समाचार

महेश आचार्यले गगन र देउवा दुबै पक्षलाई भने : गुटगत स्वार्थ त्यागी १५ औं महाधिवेशनको मिति तोकौं

१० चैत, काठमाडौं ।– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिलाई विभिन्न चरणबद्ध निर्णय र कार्यक्रमहरू अवलम्बन गर्न आग्रह गरेका छन्।

यतिबेला देश गम्भीर जोखिमको डिलमा रहेको भन्दै उनले राष्ट्र, राष्ट्रियता, आर्थिक एजेण्डा, सामाजिक सद्भाव र एकताका मुद्धा गंभीर चुनौति बनेर खडा भएको बताए । आचार्यले आफ्नो फेसबुक पोस्टमार्फत यस्तो जटिल अवस्थामा पनि पार्टी पंक्ति गुटबन्दी र व्यक्तिगत महत्वाकांक्षाको दुष्टाचारबाट बाहिर ननिस्कने हो भने कांग्रेसले देश प्रति र आफ्नै गौरवपुर्ण इतिहास प्रति अपराध गरेको ठहरिने बताएका छन् ।

नेता आचार्यले गुटगत स्वार्थ र पूर्वाग्रहबाट मुक्त भई तत्काल पार्टीको पन्ध्रौं महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन्।यसका साथै, उनले हालै सम्पन्न निर्वाचनको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। यो समीक्षा स्थानीय पार्टी संरचनाका प्रतिवेदन, केन्द्रीय निर्वाचन परिचालन तथा अनुगमन टोलीका प्रतिवेदन र उम्मेदवारहरूको रायमा आधारित हुनुपर्ने उनको भनाइ छ।

निर्वाचनको अवधिमा र त्यसपछिको सांगठनिक अवस्थाको मूल्यांकन, सुधार कार्ययोजना र गतिशीलताका लागि केन्द्रीय प्रतिनिधि टोलीलाई जिल्ला, क्षेत्र र गाउँ तहसम्म पठाउनुपर्ने सुझाव पनि आचार्यले दिएका छन्। महाधिवेशनको तयारी, सांगठनिक समीक्षा र सुधार योजनाले पार्टी जीवनमा नयाँ ऊर्जा थप्ने उनको विश्वास छ।

पार्टीभित्र पूर्वाग्रहमुक्त भएर र मतभेद चर्किन नदिई संसदीय दलको नेतृत्व चयन गर्नुपर्नेमा आचार्यले जोड दिएका छन्साथै, संसदमा दलको प्रभावकारी भूमिकाका लागि कार्ययोजना बनाई त्यसलाई कार्यान्वयन गर्न पनि उनले आग्रह गरेका छन्।

आगामी स्थानीय र प्रदेश तहको निर्वाचनको रणनीतिक तयारी अहिलेबाटै सुरु गर्नुपर्ने र महाधिवेशनलगत्तै यसलाई सघन रूपमा कार्यान्वयन गर्नुपर्ने आचार्यको सुझाव छ। कांग्रेस नेतृत्वले स्थानीय र प्रदेश चुनावको संरचनागत स्वरूप तथा मतदाताको स्थानीय रुचि र मनोविज्ञानलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ।

यसो गर्दा कांग्रेसको पुनः सशक्तिकरणको आधार बन्न सक्ने उनले औंल्याएका छन्।पूर्व अर्थमन्त्री आचार्यको यो सुझावलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले कसरी लिन्छ, त्यो भने नै हेर्न बाँकी छ ।