समाचार

प्रधानमन्त्री सुशीला कार्की सिंहदरबारबाट बिदा, बालुवाटारबाट सामान सारियो

१० चैत, काठमाडौं । सुशीला कार्की प्रधानमन्त्री पदबाट अलग हुने तयारीमा पुगेकी छन्। स्रोतका अनुसार, प्रस्तावित प्रधानमन्त्री बालेन शाह ले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

जिम्मेवारी हस्तान्तरणको तयारीस्वरूप कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन छाडिसकेकी छन्। कार्यालयका एक अधिकारीका अनुसार उनले अनौपचारिक रूपमा विदा लिँदै औपचारिक कार्यक्रम आवश्यक नभएको बताएकी थिइन्।

प्रधानमन्त्री निवास बालुवाटारबाट पनि उनको परिवारले सामान टोखास्थित निजी निवासमा सारिसकेको छ। त्यहाँ आवश्यक सुरक्षा व्यवस्थाको तयारी समेत भइरहेको जनाइएको छ।

अब पूर्वप्रधानमन्त्रीको हैसियतमा कार्कीको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिनेछ। शुक्रबार नयाँ प्रधानमन्त्रीको शपथपछि कार्की परिवार सीधै निजी निवासमा बसाइँ सर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।