११ चैत, किएभ । रुसले युक्रेनमाथि युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ। पछिल्लो २४ घण्टामा रुसले युक्रेनका विभिन्न सहरहरूलाई निसाना बनाउँदै ९४८ वटा ड्रोन प्रहार गरेको हो।
युक्रेनी वायुसेनाका अनुसार मंगलबार दिउँसोको असामान्य आक्रमणमा मात्रै ५५६ वटा ड्रोन प्रयोग गरिएका थिए। यस आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।
यसअघि रातभर भएको आक्रमणमा पाँच जनाले ज्यान गुमाइसकेका थिए। रुसले रातको समयमा ३९२ ड्रोन र ३४ वटा मिसाइल प्रहार गरेको युक्रेनको दाबी छ।
यसपटक रुसी आक्रमणको निशानामा युक्रेनका ऐतिहासिक र संवेदनशील क्षेत्रहरू परेका छन्। पश्चिमी सहर ल्भीभमा अवस्थित १६ औँ शताब्दीको प्रसिद्ध बर्नाडाइन गुम्बामा क्षति पुगेको छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो क्षेत्र सहरको केन्द्र भागमा पर्दछ। ल्भीभका आवासीय भवनहरूमा पनि ड्रोन खसेका भिडियोहरू सार्वजनिक भएका छन्, जहाँ ३२ जना घाइते भएका छन्।
छिमेकी सहर इभानो-फ्रान्किभ्स्कमा रुसी ड्रोन प्रहारबाट एउटा प्रसूति अस्पतालमा क्षति पुगेको छ। यस सहरमा ६ वर्षका बालकसहित चार जना घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। त्यसैगरी, टेर्नोपिल र विन्नित्सिया जस्ता सहरहरूमा पनि प्रत्यक्ष प्रहार भएका छन्, जहाँ एक व्यक्तिको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन्।





