११ चैत, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले यात्रुवाहक सवारी भाडा नबढाए आफैं भाडा वृद्धि गर्ने चेतावनी दिएको छ। बुधबार जारी विज्ञप्तिमा महासंघले भाडा स्वघोषणा गरेर असुल गर्ने विकल्पमा जाने संकेत गरेको हो।
यातायात व्यवस्था विभागले हालै यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत भाडा बढाउने सिफारिस गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा नबढाएको भन्दै महासंघ असन्तुष्ट भएको छ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार, “भाडा समायोजनका लागि अनुरोध गर्दा हालसम्म सुनुवाइ नहुँदा दिनहुँ व्यवसायीले लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेकाले सेवा बन्द गर्नुपर्ने अवस्था आएको छ। त्यसैले, भाडा समायोजन गर्न जोडदार माग गर्दैछौं। यदि आवश्यक परेमा भाडा घोषणा गर्ने विकल्पमै जानुपर्ला।”
नेपाल आयल निगमले २ चैतदेखि डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेपछि व्यवसायीहरू भाडा बढाउने दबावमा परेका छन्।






