समाचार

बलात्कार आरोपमा पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ

१४ चैत, काठमाडौं । काठमाडौंमा नेकपा एमालेका पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ। ५२ वर्षीय मल्ललाई शनिबार ललितपुर महानगरपालिका–१५ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१० घर भई हाल चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका मल्लविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो।

पीडित महिलाले फागुन ५ गते नै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। न्यायको माग गर्दै उनी केही समयअघि माइतीघरमा अनशनसमेत बसेकी थिइन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।