समाचार

देउवा समूहको निर्णय: ओली–लेखक पक्राउको संवैधानिक र राजनीतिक रूपमा प्रतिवाद गरिने

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा असहमति जनाउँदै त्यसको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।

शनिबार ठमेलस्थित रमादा होटलमा बसेको देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै त्यसविरुद्ध सशक्त रूपमा उभिने निष्कर्ष निकालेको हो।

बैठकपछि कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै सरकार गठन लगत्तै यस्तो कदम चालिनु संविधान र लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी दिनमा आउने राजनीतिक परिस्थितिको सामना गर्न तयार रहन आह्वानसमेत गरेका छन्।

देउवा समूहले आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा आवश्यक प्रक्रिया पूरा नगरी पूर्व पदाधिकारीहरूलाई पक्राउ गरिएको भन्दै यसलाई कानुनी राज्यको मर्मविपरीत र पूर्वाग्रहपूर्ण निर्णय ठहर गरेको छ।

साथै, भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा २४ गतेको घटनाबारे मौनता अपनाइएको भन्दै प्रतिवेदन नै पक्षपातपूर्ण भएको आरोप पनि लगाइएको छ।