१४ चैत, काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन युवा संघ नेपाल ले राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ। काठमाडौंको बिजुलीबजार क्षेत्रमा नेता तथा कार्यकर्ताहरूले जुलुस निकाल्दै सरकारको कदमप्रति विरोध जनाएका हुन्।
यसअघि पनि एमाले निकट विभिन्न संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनपछि शनिबार दिनभर राजधानीका विभिन्न स्थानमा तनावपूर्ण अवस्था देखिएको थियो।
युवा संघका नेताहरूले आगामी दिनमा आन्दोलन अझ सशक्त र आक्रामक बनाउने चेतावनी दिएका छन्। उनीहरूका अनुसार भोलिदेखि प्रदर्शनलाई थप विस्तार गरिनेछ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिनपछि विकसित घटनाक्रमसँगै वर्तमान विरोध कार्यक्रम सुरु भएको हो। उक्त समयमा केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए। उनीहरू दुवै पक्राउ परेपछि एमाले र सम्बद्ध संगठनहरूले विरोध प्रदर्शनलाई तीव्र बनाएका छन्।





