समाचार

पुर्व गृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

१५ चैत, काठमाडौं । शनिबार पक्राउ परेका पुर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई अदालतमा उपस्थित गराइएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजि आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका लेखकलाई हिजो शनिबार सार्वजनिक बिदा भएको हुँदा आज अदालतमा लगिएको हो ।

साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालतमा उपस्थित गराइने भएको छ । जेनजि आन्दोलन हिंसात्मक बन्दा प्रहरी सहित ७६ जनाको मृत्यु भएको थियो ।

सोहि घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारसि गरेको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । चैत १४ गते बिहाननै प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो ।