१५ चैत, काठमाडौं । नयाँ सरकार गठनपछि खुलेको पहिलो कारोबार दिनमै सेयर बजारमा गिरावट देखिएको छ। ७१ अंकले घट्दै २९०० को मनोवैज्ञानिक सीमाभन्दा तल झरेर २८७९ अंकमा कायम भएको हो।
आइतबार बजार खुलेसँगै निरन्तर ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १३ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज १५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। बजारमा ९ कम्पनीको शेयर मूल्य बढ्दा २५६ कम्पनीको घटेको छ भने एउटा कम्पनी स्थिर रहेको छ।
समूहगत रूपमा हेर्दा सबै उपसूचकहरू घटेका छन्। फाइनान्स क्षेत्र सबैभन्दा धेरै ३.३८ प्रतिशतले घटेको छ। त्यसपछि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन, माइक्रोफाइनान्स लगायतका क्षेत्रहरूमा पनि उल्लेख्य गिरावट देखिएको छ।
यद्यपि, केही कम्पनीहरूमा भने उल्लेख्य वृद्धि देखियो। रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनजस्ता ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
विश्लेषकहरूका अनुसार नयाँ सरकार गठनपछि बजारमा उत्साह आउला भन्ने अपेक्षा थियो। सरकारले निजी क्षेत्रमैत्री संकेतहरू पनि दिएको थियो। तर, पछिल्लो समय देखिएको धरपकड र आन्दोलनका कारण लगानीकर्ताको मनोबल कमजोर बनेको छ।
एक ब्रोकर सञ्चालकका अनुसार बजार यसअघि नै बढिसकेको र लगानीकर्ताले नाफा सुरक्षित गर्ने अवसर खोजिरहेको अवस्थामा राजनीतिक अस्थिरताले बिक्री चाप बढाएको हो। साथै, नयाँ सरकार गठनपछि ठूलो मात्रामा सेयर बिक्री गर्न सजिलो हुने समयका रूपमा पनि यसलाई उपयोग गरिएको हुनसक्ने उनले बताए।
गत साता नेप्से ७३ अंकले बढेको थियो भने एक महिनाअघि २६७३ अंकमा रहेको बजार आइतबार खुल्दा २९५० अंकसम्म पुगेको थियो। यस्तो अवस्थामा आएको गिरावटलाई स्वाभाविक ‘प्रोफिट बुकिङ’ का रूपमा पनि हेरिएको छ।





