१५ चैत, काठमाडौं, । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद थप गरेसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमा राखिने भएको छ। शनिबार पक्राउ परेका लेखकलाई हिरासतमा राखेर बयान संकलन र अनुसन्धान कार्य जारी राखिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए।
‘उनलाई २ नम्बर गणमै राखेर अनुसन्धानको काम गरिरहेका छौँ। म्याद थप भएपछि पनि यहीँ राखिएको छ,’ उनले जानकारी दिए। सामान्यतया अनुसन्धानका लागि सम्बन्धित कार्यालयको हिरासतमा राखिन्छ, तर उच्च सुरक्षा आवश्यक भएकाले लेखकलाई २ नम्बर गणमा राखिएको हो।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भने स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमै राखिएको छ। अदालतले म्यादको आदेशमा पनि उनको उपचारको प्रबन्ध सुनिश्चित गर्न निर्देशन दिएको थियो।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनको समयमा ओली र लेखक क्रमशः प्रधानमन्त्री र गृहमन्त्री थिए। उक्त आन्दोलनको दमनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दुबैलाई दोषी ठहर गर्दै ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो। आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि शनिबार बिहान दुवैलाई पक्राउ गरिएको थियो।





