समाचार

कर्मचारीतन्त्रमा दोषारोपण: एमाले सांसदलाई बालेनको कडा जवाफ:‘यसको जड तपाईंहरू नै’

१७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग निरन्तर छलफल गरिरहेका छन्। यस क्रममा सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग भेट गरेका उनले मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

छलफलका क्रममा नेकपा एमाले का सांसदहरूले विभिन्न राजनीतिक तथा विकाससम्बन्धी विषय उठाएका थिए। एमाले सांसद ऐनबहादुर महर ले कर्मचारीतन्त्रका कारण देशको अवस्था बिग्रिएको भन्दै सुधार गर्न आग्रह गरे।

यसमा प्रधानमन्त्री बालेनले कडा प्रतिक्रिया दिँदै भने, “यसको जड नै तपाईंहरू हो, कांग्रेस र एमालेले नै यसबाट सुरु गर्नुपर्छ।” उनको यो अभिव्यक्तिले छलफललाई केही समयका लागि तनावपूर्ण बनाएको थियो।

त्यसैगरी, एमाले सांसदहरूले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली को रिहाइको माग पनि राखेका थिए। तर, प्रधानमन्त्रीले यस विषयमा कुनै प्रतिक्रिया जनाएनन्।

विकासका मुद्दामा भने छलफल सकारात्मक देखिएको थियो। गेटा अस्पताल निर्माणको विषय उठ्दा प्रधानमन्त्रीले तत्काल निर्णय लिन तयार रहेको संकेत दिए। उनले भने, “गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु, कहिले गरौँ?”

सांसदहरूले सुदूरपश्चिमको महत्वपूर्ण परियोजना सेती लोकमार्ग र कैलाली–खक्रौला नाकादेखि चीनको ताक्लाकोटसम्म सडक निर्माणको विषयमा पनि चासो राखेका थिए। प्रधानमन्त्रीले यी परियोजनाप्रति सकारात्मक चासो देखाएको सहभागी सांसदहरूले बताएका छन्।

यस छलफलले एकातिर राजनीतिक आरोप–प्रत्यारोपलाई उजागर गरेको छ भने अर्कोतर्फ विकासका योजनामा सहकार्यको सम्भावना पनि देखाएको छ।