समाचार

ओली पक्राउविरुद्ध एमाले सडकमा: देशव्यापी आन्दोलनको घोषणा

१७ चैत, काठमाडौं । नेकपा एमाले ले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको हो। महासचिव शंकर पोखरेल का अनुसार चैत २४ गतेदेखि देशभरका जिल्ला कमिटीमार्फत वृहत् कार्यकर्ता भेला आयोजना गरिनेछ।

त्यसपछि आन्दोलनलाई थप विस्तार गर्दै पालिका, वडा र प्रदेश तहसम्म प्रदर्शन गरिने योजना बनाइएको छ। वैशाख ३ गते वडा तहमा भेला, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा सभा गर्ने कार्यक्रम तय गरिएको छ।

अन्तिम चरणमा वैशाख १२ गते काठमाडौंमा ठूलो विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने एमालेले जनाएको छ।

पार्टीले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यसविरुद्ध देशभर आन्दोलन चर्काउने संकेत गरेको छ।