१७ चैत, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखाकी एक कर्मचारीलाई ग्राहकको खाताबाट करिब दुई करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ की सुनिता बानियाँ रहेकी छन्।
प्रहरीका अनुसार बानियाँले २६ जना ग्राहकको खाताबाट अनधिकृत रूपमा रकम निकालेर प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले उक्त रकम अनलाइन बेटिङमा प्रयोग गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिएका छन्।
बैंकले खातामा असामान्य साना–साना कारोबार देखिएपछि आन्तरिक छानबिन सुरु गरेको थियो। त्यसक्रममा विभिन्न खाताबाट रकम स्थानान्तरण गरिएको पुष्टि भएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो।
प्रहरीले बानियाँविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। रकम कसरी निकालियो, कहाँ प्रयोग गरियो र अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा डिजिटल डाटा विश्लेषण भइरहेको छ।
यस घटनापछि बैंकले प्रभावित ग्राहकको रकम सुरक्षित गर्ने तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। प्रहरीले पीडितलाई सम्पर्कमा आउन आग्रह गर्दै क्षतिको वास्तविक परिमाण यकिन गर्ने काम जारी रहेको बताएको छ।




