१८ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले बुधबार मधेश प्रदेशका प्रत्यक्ष निर्वाचित ३० सांसदसँग तीन घण्टा लामो बैठक गरी बजेट अघि छोटो अवधिमा गर्न सकिने कामबारे छलफल गरेका छन्।
बैठक दिउँसो १२ बजे सुरु भई ३ बजे समापन भएको थियो। भेटघाटमा सांसदहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार विकास, मिटरब्याज समस्या, चुरे संरक्षण, सीमा व्यवस्थापन, ऐलानी र मन्दिर जग्गा, हुलाकी राजमार्ग सुधार, र साना भन्सार पुनः सञ्चालन जस्ता मागहरू उठाएका थिए।
प्रधानमन्त्री शाहले सांसदहरूको प्रत्येक माग सचिवालयमा टिपोट गरिएको र सम्बन्धित मन्त्रालयको जिम्मेवारी अनुसार समाधानको प्रयास गरिने जानकारी दिएका छन्। उनले बैठकमा सुरु र अन्त्यमा मात्रै संक्षिप्त रूपमा बोल्दै मुख्य ध्यान सांसदहरूको सुझाव सुन्नमा राखेका थिए।
यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसँग पनि भेटघाट गरी बजेटअघि प्राथमिकता तय गर्ने प्रक्रिया अघि बढाइसकेका छन्।




